हिमालपारीको जिल्ला मुस्ताङको संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ बारागुङमुक्तिक्षेत्र गाउँपालिकाले गण्डकी प्रदेश राजधानी पोखरामा वृत्तचित्र प्रदर्सनी गरेको छ ।

मुस्ताङ जिल्लाको विभिन्न स्थानमा विवाह, व्रतबन्ध, पर्व, मेला तथा विशेष अवस्थामा गाइने गीत तथा नृत्यको संरक्षण गर्दै प्रबद्र्धनका लागि वृत्तचित्र निमार्ण गरिएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले जानकारी दिए ।

उनले आफु पालिका अध्यक्षमा निर्वाचित भएर आइसकेपछि स्थानीय संस्कृति, गीत तथा नृत्यको संरक्षण गर्नका लागि लागि परेको सुनाए ।

उनले आफ्नो परम्परा र इतिहाससँग जोडिएका विषयवस्तुहरु पालिकाको गहनाका रुपमा रहेकाले यसको संरक्षण गर्नु प्रमुख दायित्व रहेको सुनाए ।

सांसद प्रेम प्रसाद तुलाचनले मुस्ताङमा आफुले विकास गर्दै गएपनि संस्कृतिको विकासमा भने कहिल्यै ध्यान नपुगेको सुनाए ।

आफ्नै मौलिक संस्कृति हराउँदै जान थालेपछि गाउँमै सांस्कृतिक गीत गाउने व्यक्ति तयार गर्न समिति नै बनाएर काम गरेको उनले बताए ।

‘गाउँमा कोहि नभएपछि गाउँकै कोषबाट हामीले १५ जनालाई प्रशिक्षण गराएर राखेका छौँ’ जस्ले गाउँमा हुने जन्मदेखी मृत्युसम्म हुने संस्कृतिमा काम गर्छन्’ उनले भने ।

संस्कृतिकर्मी डा.तुल्सी प्रभास खनालले संस्कृतिको क्षेत्रमा राज्यको लगानि निकै कम रहेको बताए । उनले संस्कृति अनुसन्धान जटिल र खर्चिलो रहेकाले जो कोहिले यसको बारेमा अनुन्धान गर्न नसक्ने बताए ।

सोही क्रममा स्याङजा तथा कास्कीका संस्कृतिको समेत वृत्तचित्र प्रदर्सनी गरिएको थियो । भैरवथानको यात्रा, बाजे बज्यै पूजा, ठाडोभाका, कृष्णचरित्र लगायत संस्कृतिको समेत वृत्तचित्र प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा हरिनास सृर्जनशिल समुह पोखराका अध्यक्ष रुद्र सन्देश मगर, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, वृत्तचित्र निदेर्शक तथा लेखक गोविन्द सिन्जाली लगायतले आफ्नो भनाइ राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।