शीर्षस्थानमा रहेको आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । आर्सनलले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको टोटेनहम हटस्परमाथि ३–१ को सानदार जित निकालेको हो ।

इमिरेट्स स्टेडियममा आर्सनलको जितमा थोमस पार्टे, गाब्रियल जेसस र ग्रानिट झाँकाले गोल गरे । टोटेनहमका ह्यारी केनले एक गोल फर्काए ।

इमिरेट्स स्टेडियम लन्डनमा शनिबार राति भएको खेलको २०औं मिनेटमा थोमस पार्टेको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले बेन ह्वाइटको पासमा गोल गर्न सफल भएका थिए ।

३१औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४९औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए ।

६२औं मिनेटमा टोटेनहम १० खेलाडीमा समेटिन पुग्यो । इमर्सन रोयल सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटेनहम समस्यामा पर्यो । त्यसपछि ६७औं मिनेटमा ग्रानिट झाँकाले गाब्रियल मार्टिनेलीको पासमा गोल गर्दै आर्सनललाई सानदार जित दिलाए ।

यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको ८ खेलबाट २१ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १७ अंक छ । आर्सनलसँगको हारसँगै टोटेनहमले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।