कृषिकर्म गरिरहेका कृषकलाई  मिहिनेत गरे अनुसार अन्नबाली उत्पादन भएको छ? भनेर प्रश्न गर्ने हो भने अधिकांशको उत्तर आउँछ ‘कहाँको उत्पादन हुनु? नगरी नभएर हो।’

उनीहरूको जवाफ पनि सही हो। खेतबारीमा जति मिहिनेत गरिएको हुन्छ त्यसको तुलनामा अन्न उत्पादन नहुँदा धेरै कृषकले वैकल्पिक बाटो रोजेका छन् त कतिले व्यावसायिक रूपमा भन्दा आफूलाई काम चल्ने गरेर मात्रै खेतीपाती गर्ने गरेका छन्।

यो नतिजा आउनुको एक प्रमुख कारणका रूपमा माटो परीक्षण नगरीकनै खेती बाली लगाउनु भएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापा बताउँछिन्। कृषकहरूलाई व्यावसायिक रूपमा कृषिमा आकर्षण गरी थोरै माटोको अवस्था अनुसारको खेती गर्न भन्दै गण्डकी प्रदेश सरकारले २०७८ सालदेखि प्रदेशका हरेक कृषि ज्ञान केन्द्र माटो परीक्षणको लागि ‘मिनी ल्याब’ स्थापना गरेको छ। गत वर्षको साउनदेखि हालसम्मका १३ महिनाको अवधिमा कुल २२ वटा नमुनाको मात्रै परीक्षण भएको छ। त्यो पनि कृषकले ल्याएको नभई ज्ञान केन्द्र आफैँले माटो ल्याएर।

विगतका वर्षमा जस्तो माटो परीक्षणको लागि पोखरा नै जानुपर्ने अवस्था रहेको भए ती २२ वटा नमुना पनि आउने थिएनन्। तर जिल्लामै परीक्षण हुने भएकाले कार्यालयको सक्रियतामा जिल्लामा मोटोको अवस्थाका बारेमा थाहा पाउन सजिलो भएको छ।

परीक्षणमा रुचि छैन

माटो परीक्षणको क्रममा माटोमा रहने धेरै प्रकारका खाद्य तत्त्वको अवस्थाबारेपत्ता लगाइन्छ। ठला अनुसन्धानमा सबै प्रकारका खाद्य तत्त्वको परीक्षण गरिने भए पनि कृषकहरूलाई लक्षित गरेर गरिने परीक्षणमा नाइट्रोजन, फस्फोरस र पोटासको परीक्षण गर्ने गरिन्छ। यस बाहेकका अन्य दुई प्रकारका खाद्य तत्त्वलाई पनि अवस्था अनुसार परीक्षण गरिन्छ।

माटोमा रहेका पाँच प्रकारका तत्त्वको परीक्षण गर्दा खास लाग्ने शुल्क ५०० रुपैयाँ हो। तर कृषि ज्ञान केन्द्रले कृषकलाई एक सय रुपैयाँमा नै परीक्षण गर्दै आएको छ। विद्यार्थी वा अन्य प्रयोजनको अनुसन्धान गर्न माटो परीक्षण गर्नेहरूले भने ३०० रुपैयाँ तिर्नुपर्छ।

निकै सुलभ दरमा माटो परीक्षण हुँदा पनि कृषकहरू भने परम्परावादी तरिकामा आफ्नै ढंगले खेती गरिरहेका छन्। जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका रामकृष्ण लामिछानेले जिल्लामा माटो परीक्षण हुन्छ भन्ने थाहा पाए पनि त्यसका लागि नगएको बताए। ‘माटो परीक्षण हुन्छ भन्ने त थाहा थियो। त्यही पनि खै अरूले माटो लगेको देखेको छैन, मैले पनि लगेको छैन। अन्न फल्नै छोडे त के भयो भनेर खोजी हुने थियो होला,’ उनले भने, ‘बरु अब एक चोटि लगेर देखाउन पर्ला।  यहाँको जमिनमा राम्रो उत्पादन हुने भएकाले पनि यतातिर परीक्षणमा खासै कसैको रुचि देखिन्न।’

वरिष्ठ कृषि विकास अधिकृत थापाले यसमा कृषकहरू चासो निकै कम भएको बताउँछिन्। गाउँमा रहेका कृषि फार्म तथा विभिन्न अनुगमनको लागि जाने बेलामा परीक्षणको लागि आउन भनिए पनि कृषक नआएको उनको अनुभव छ। बिरामी परेको मान्छेलाई अस्पताल नलगी घरमै राखेर ‘एकदुई दिन विचार गरौँ न!’ भन्ने मानसिकता रहेको बेलामा माटोको खोजी गर्नु परको कुरा भएको उनको भनाइ छ।

‘मान्छे नै बिरामी परे पनि एकदुई दिन हेरौँ, भएन भने लैजाउँला भन्ने मानसिकता अझै पनि भेटिन्छ। मान्छेलाई त समयमा उपचार नगर्ने अवस्थामा माटोको उपचार गर्न कसलाई पो चासो लागोस्?’ उनले भनिन, ‘तर जब कुरा बुझ्नुहुन्छ, त्यसपछि कृषकहरू आफैले माटो बोकेर आउनुहुने छ। यसको फाइदाको बारेमा जानकार नभएर पनि चासो नभएको होला।’ कृषकहरू यसमा आकर्षित नहुनुको कारण ज्ञान केन्द्रको सक्रियता यो भन्दा पनि बढी आवश्यक भएका हुन सक्ने अहिलेसम्म आफूहरूले सकेसम्म प्रचारप्रसार गरिरहेको उनको भनाइ छ।

के हो पीएच मान?

व्यावसायिक रूपमा होस् वा घर खर्ची चलाउन गरिएको कृषि किन नहोस् औँलामा गन्न सकिने कृषकलाई मात्रै माटोको पीएच मानको बारेमा थाहा होला।
माटोको अवस्था थाहा नपाईकनै खेती गरिँदा कृषकले जति खाद्य तत्त्व बिरुवालाई दिए पनि लिन नसक्ने भएकाले कृषकको दुःख ‘बालुवामा पानी’ जस्तै हुने गरेको छ। कार्यालय प्रमुख थापाका अनुसार पीएच मान नाप्दा शून्यदेखि १४ सम्मको नतिजामा निस्कन्छ। जसमा अधिकांश बाली वा बिरुवालाई पाँच दशमलव पाँचदेखि सात दशमलव पाँचसम्मको पीएच अवस्था भएको हुनुपर्छ। ० देखि ६ सम्मको अवस्थामा माटो अम्लीय हुने, छ देखि सातसम्मको माटो तटस्थ हुने र सातदेखि १४ सम्मको माटो क्षारीय हुन्छ। खेतीका लागि अम्लीय र क्षारीय दुवै नहुने भएकाले माटोको अवस्था तटस्थ वा त्यसको वरिपरि भएको राम्रो मानिन्छ।

‘तटस्थ विन्दुबाट जति–जति तल वा माथि जान्छ उति मात्रामा माटोको अवस्था बिग्रिँदै जाने हो। उत्पादन भएन भनेर रासायनिक मल हाल्ने गरिन्छ। रासायनिक मलमा भएको तत्त्व बिरुवाले लिन्छ भनेर हाल्ने हो,’ थापा भन्छिन्, ‘अम्लीय र क्षारीय अवस्थामा नभएको माटोले मात्रै रासायनिक मलको मात्र शोषण गर्छ र त्यो बिरुवाले लिन्छ। बिग्रेको माटोमा रासायनिक मल हालेर उत्पादन बढ्दैन, बरु त्यही रासायनिक मलले माटो बिग्रिन सहयोग गर्छ।’

सिफारिस भएको पि.एच भन्दा फरक अवस्थामा रहेको माटोमा लगाइएको खेती राम्रो बनाउन रासायनिक मल वा अन्य कुनै खाद्य तत्त्व प्रयोग गर्नु भनेको हातखुट्टा बाँधेर मुख थुनिदिएको मान्छेको अगाडि मिठा मिठा परिकारहरू राखिएको जस्तो मात्रै हुने उनको भनाइ छ।

यस्तो छ पर्वतको माटो

कृषकहरूले परीक्षणका लागि माटो नल्याएको भए पनि कृषि ज्ञान केन्द्रले अनुगमन वा कार्यक्रममा गएको बेलामा फरक फरक ठाउँबाट माटोको नमुना ल्याएर परीक्षण गर्ने गरेको छ।

त्यो नतिजालाई हेर्दा नेपालभर रहेको अवस्था भन्दा पर्वतको माटो झनै बिग्रिएको अवस्थामा रहेको पाइएको छ। नेपालको माटोको पि.एच हेर्दा राष्ट्रिय रूपमा ६० प्रतिशत छ। यो आफैमा माटोको कमजोर अवस्था हो। जबकि पर्वतको माटोमा त्यही पीएचको अवस्था ८४ प्रतिशत रहेको पाइएको छ। २२ वटा नमुनाको परीक्षणबाट यो अवस्था देखिएको र यसले कृषि उत्पादनलाई बिस्तारै कमजोर पार्दै लगेको थापाको भनाई छ। माटोमा नाइट्रोजन र फस्फोरसको मात्रा जति धेरै भयो उति नै राम्रो हुने भए पनि पर्वतको माटोको अवस्था मध्यम देखिएको छ।

 

माटोको गुज्रिएको अवस्थाका कारण नै माटोको शक्ति जोगाउन सबै कृषकहरूलाई कार्यालयमा आएर यसको बारेमा आह्वान गरिएको उनले बताइन्। माटोको अवस्था यही गतिमा खस्किँदै जाने हो भने केही वर्षपछि उत्पादन शून्य अवस्था आउन सक्ने र भोकमरीका कारण प्राणीको जीवनरक्षा हुन नसक्ने विकराल रूप आउन सक्ने थापा बताउँछिन्।

यसरी स्वस्थ बनाउन सकिन्छ माटो

सबै बालीमा एउटै पीएच मात्राले काम नगर्ने भएकाले बेला बेलामा माटो परीक्षणका आवश्यकता पर्छ। धान खेतीमा जति पीएच चाहिने हो गहुँ वा मकै खेतीमा त्यो भन्दा फरक हुने भएकाले बाली लगाउनु पूर्व नै माटो परीक्षण गरेर खेती गर्नुपर्ने कृषि ज्ञान केन्द्रको सुझाव छ।

खेतीमा रासायनिक मलको सट्टा गाउँ घरमा उपलब्ध हुने गोबर र वनस्पतिबाट बनाइने कम्पोष्ट मलको अधिकतम प्रयोग हुनुपर्ने उनको सुझाव छ। यो विधिबाट नभएमा माटोको परीक्षण गरेर मात्रै कृषि चुनको प्रयोग गर्न सकिन्छ। माटोको अवस्था हरेर सिफारिस गरिएको बाहेकको कृषि चुनले माटोलाई असर गर्ने भएकाले परीक्षणपछि मात्रै यसो गर्नुपर्ने वरिष्ठ कृषि विकास अधिकृत थापा बताउँछिन्।

अर्को राम्रो उपायका रूपमा कोसेबाली विधिलाई हेरिन्छ। कोसेबालीले हावामा रहेको नाइट्रोजन तानेर जरामा राख्ने भएकाले वर्षमा कम्तीमा पनि एक पटक खेतबारीमा कोसेबाली लगाउनुपर्ने उनले सुझाइन्। ‘कोसेबालीको जराले हावामा भएको नाइट्रोजन तानेर आफ्ना जरामा ‘होल्ड’ गरेर राख्ने गर्छ। त्यो जरा माटोमा नै मिल्छ र त्यो माटोले नाइट्रोजन पाउँछ जुन माटोको मुख्य खाद्य तत्त्व हो,’ उनले भनिन, ‘गाउँघरमा गाईभैँसी पाल्ने चलन हराउँदै गयो। बजारमा पाइने मल लागेर फालेपछि फलिहाल्छ नि भन्ने कृषकको सोच भयो। रासायनिक मलका कारण माटोमा एसिडिटी बढ्दै गयो।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।