कास्कीमा नेकपा माओवादी केन्द्रका एक दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसहित नेता–कार्यकर्ता चुनावको मुखैमा सोमबार एमाले प्रवेश गरेसँगै माओवादीलाई धक्का लागेको छ ।

एमाले गण्डकी प्रदेश संगठन कमिटीद्वारा सोमबार पोखरामा आयोजित कार्यक्रममा माओवादी प्रदेश कमिटी सदस्य राजु शर्मा तिमिल्सना, पूर्व जिल्ला कमिटी सदस्य चुणामणी विक र भूपालबहादुर थापा, पोखरा १८ का उपाध्यक्ष नारायण तिमिल्सनालगायत १२ जना एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी, प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, पोलिटब्युरो सदस्य सीता गिरी ओली, केन्द्रीय सदस्य कृष्ण थापालगायत नेताहरूले स्वागत गरेका थिए ।

कुनै पनि दलमा खुलेर नलागेका दुई जना सामाजिक अभियन्ताले पनि एमाले रोजेका छन् । हिमालय क्लब पोखरा १६ का अध्यक्ष मोहन थापा र सोही क्लबका संस्थापक अध्यक्ष तीर्थ तामाङ एमाले प्रवेश गरेका हुन् ।

एकीकृत समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली पनि गत शनिबार एमाले प्रवेश गरेका थिए । मतदातामाझ माओवादीका प्रभावशाली मानिने प्रदेश कमिटी सदस्य तिमिल्सनासहित नेता–कार्यकर्ता प्रवेश गरेपछि आगामी चुनावमा एमालेलाई झनै सहज हुने देखिन्छ ।

गत ३० वैशाखको चुनावमा तिमिल्सना पोखरा १८ मा वडाध्यक्ष उम्मेद्वार थिए । कांग्रेसका उम्मेद्वार विजयी हुँदा तिमिल्सनाले ७०२ मत पाएका थिए । त्यहाँ एमाले उम्मेद्वार पुष्कलबहादुर थापा ३ मतले हारेका थिए ।

पोखरा १८ कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ । त्यहाँ प्रतिनिधिसभामा गठबन्धनबाट माओवादीका उम्मेद्वार छन् । तर, प्रभावशाली मानिने तिमिल्सना वडा कमिटीका पदाधिकारीलगायत लिएर एमाले प्रवेश गरेसँगै एमालेलाई थप सहज भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।