नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मदेवार श्रीनाथ बरालले आफू इमान्दार एमाले नेता कार्यकर्ताको पनि उम्मेदवार रहेको बताएका छन् । बिहीबार पोखरा ३३ को तल्लो पुँडिटारमा घरदैलो कार्यक्रम अगाडि आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यस अगाडि पटक–पटक एमाले उम्मेदवार जिताउनका लागि आफै नेतृत्व गरेर जनतासंग मत मागेको तर मत पाएकाहरुले जनअपेक्षा अनुरुप काम नगरेको उनले बताए । त्यहि भएरएमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी बनाउनु परेको उनले तर्क गरे । ‘म ५ दलको सझा उम्मेदवार त हुँदै हुँ, विगतमा मेरै नेतृत्वमा एमाले उम्मेदवारका लागि पटक पटक मत मागेको छु ।
निर्वाचित गराउन भुमिका खेलेको छु । तर, उहाँहरुले यहाँहरुको अपेक्षा अनुरुप काम गर्न सक्नुभएन । जनताको जीवनस्तर माथि उकास्न सक्नुभएन ।’ उनले भने, ‘त्यसैले अहिले एमालेबाट विद्रोह गरेर ५ दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट साझा उम्मेदवारको रुपमा खडा भएको छु । म इमान्दार एमालेका नेता कार्यकर्ताको पनि उम्मेदवार हुँ । जनताको अपेक्षा अनुरुप काम गर्नेछु ।’

उम्मेदवार बरालले पुँडिटारमा औद्योगिक क्षेत्र स्थापना गर्ने, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको सहिढंगले व्यवस्थापन गर्ने, खानेपानी र मोटरबाटोको स्तरोन्नति र विस्तारमा आफूले जोड दिने बताए । उनले ‘निर्वाचित भएपछि फेरी अर्को निर्वाचनमा गफ दिएर होइन जनतासंग बसेर जनताको सुखदुखमा साथ दिएर, उनीहरुको जीवनस्तर उकास्ने अनि संसदमा जनताकै मुद्धा उठाएर उनीहरुको पक्षमा ऐन कानुन निर्माण गर्ने काम मैले गर्नेछु’ भनेका छन् ।

उम्मेदवार बरालले महानगर, प्रदेश र केन्द्र सरकारका बीचमा सन्तुलन कायम गर्दै जनताको आवश्यकता र प्रथमिकतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाए । ‘यहाँको महानगरपालिकाले घोषणा गरेको कामको प्रतिवता पुरा गर्न, प्रदेश सरकारले ल्याएका योजना पूर्वाधारका योजना पूर्ति गर्ने र यहाँको आवश्यकता अनूरुपको पूर्वाधार विकासमा मैले केन्द्रमा सिधै पहुँच पुर्याउने छु ।’ उनले भने, ‘केन्द्रीय राजनीति र स्रोतसाधनमा कास्की र पोखरावासीको पहुचलाई विकास र समृद्धिसंग जोड्ने कुरामा मेरो ध्यान केन्द्रित हुनेछ ।’

आफ्नो निर्वाचन क्षेत्रमा तीन खालको अवस्था रहेको उनले सुनाए । सबै क्षेत्र महानगर भएपनि पूर्वाधारका हिसावले धेरै पछडिएको क्षेत्र अनि कृषि र पर्यटनको हिसावले अत्यन्त सम्भवानायुक्त क्षेत्र रहेको उनले बताए । ति सबै क्षेत्रको समुचित विकासमा आफ्नो जोड रहने उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता एवं गठबन्धनको तर्फबाट कास्की २(क)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले आफूहरु प्रतिवद्धता जनाउने तर काम नगर्ने खालको उम्मेदवार नभएको बताए । ‘जे बोलिन्छ, प्रतिवद्धता जनाइन्छ त्यो पुरा गर्छाैं, विगतमा प्रतिवद्धता जनाउने तर काम नगर्ने अनि गफ मात्र दिने प्रवृत्ति देखियो । अब त्यस्तो प्रवृत्तिलाई यहाँहरुले तोड्नुपर्छ । म प्रतिवद्धता जनाउँछु । जो बोल्छौं । त्यो पुरा गरेरै छाड्ने छौं’ उनले भने ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता देवराज चालिसेले गफ दिनेलाई होइन काम गर्नेलाई जनताले चिन्नुपर्ने बताए । उनले निर्वाचन कुर्चीका लागि मात्र नभएको भन्दै जनताको काम गर्ने भन्दै गफ दिएर निर्वाचित भएपछि औषधी, माक्स र सेनिटाइजरमा समेत भ्रष्टाचार गर्नेहरुसंग सचेत बन्नुपर्ने धारणा राखे ।

नेकपा एमालेको नेतृत्वको सरकारले ठूलठूला भ्रष्टाचारका काण्ड मच्याएको आरोप लगाए । गठबन्धनबाट जसले टिकट पाएपनि गठबन्धनबाट जितेका उम्मेदवारले विकास र समृद्धिलाई केन्द्रमा राख्ने हुँदा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने उनको तर्क थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।