भारतले टी-२० विश्वकप क्रिकेटमा जिम्बाब्वेलाई पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । अब सेमिफाइनलमा भारतले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ भने पाकिस्तानले न्यूजिल्यान्डसँग खेल्नेछ ।

अस्ट्रेलियाको मेलबर्नमा आइतबार साँझ भारतले जिम्बाब्वेलाई ७१ रनले पराजित गरेसँगै सेमीफाइनल समीकरण पूरा भएको हो । समूह-२ बाट भारत विजेता र पाकिस्तान उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका छन् । शनिबार नै समूह-१ बाट न्यूजिल्यान्ड समूह विजेता र इंग्ल्यान्ड उपविजेता हुँदै विश्वकपको सेमिफाइनल पुगेका थिए ।

१८७ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको जिम्बाब्वेले १७.२ ओभरमा सबै विकेटको क्षतिमा ११५ रन मात्रै बनाएपछि भारतले सहज जित निकालेको हो । जिम्बाब्वेका रियान बुर्लले ३५ र सिकन्दर राजाले ३४ रन बनाउनबाहेक अन्य खेलाडीले राम्रो खेल्न सकेनन् । भारतका लागि रविचन्द्र अश्विनले तीन, मोहम्मद शामी र हार्दिक पाण्ड्येले समान २-२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १८६ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले २५ बलमा अविजित ६१ रन बनाए । त्यस्तै, केएल राहुलले ५१ र विराट कोहलीले २६ रन बनाए ।

यो जितसँगै भारतले समूह-२ मा पाँच खेलबाट आठ अंक बनाउँदै समूह विजेता बनेको हो । यसअघि आजै (आइतबार) भएको खेलमा बंगलादेशलाई पराजित गर्दै पाकिस्तानले सेमिफाइनल यात्रा तय गरेको हो । पाकिस्तानले पाँच खेलबाट तीन खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै ६ अंक बनाएर उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनाएको हो । यता, आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्ससँग अप्रत्यासित हार ब्यहोरेको दक्षिण अफ्रिका भने विश्वकपबाट बाहिरिन पुग्यो ।

पाँच खेलबाट पाँच अंक नै बनाएको दक्षिण अफ्रिका तेस्रो स्थानमा रहँदा समान खेलबाट नेदरल्यान्ड्सले चार अंक जोड्दै विश्वकपमा आफ्नो यात्रा टुंग्याएको छ । बंगलादेशले पाँच खेलबाट चार अंक जोड्दा चार खेलबाट तीन अंक बनाएको जिम्बाब्वे पुछारमा रहँदै विश्वकप यात्रालाई सकाएको छ ।

यता, समूह-१ बाट आयोजक राष्ट्र अस्ट्रेलिया नै बाहिरिएको छ । अस्ट्रेलिया बाहिरिँदा यो समूहबाट न्यूजिल्यान्ड र इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुग्न सफल भयो । न्यूजिल्यान्डले पाँच खेलबाट सात अंक बटुल्दै समूह विजेता बन्यो । इंग्ल्यान्डले पनि समान खेलबाट सात अंक नै बनाएर सेमिफाइनलमा स्थान बनायो । तर, समान खेलबाट सात अंक नै बनाएको अस्ट्रेलिया भने न्यूजिल्यान्ड र इंग्ल्यान्डसँग नेट रनरेटको आधारमा पछि पर्दै विश्वकपबाट बाहिरिएको हो ।

श्रीलंकाले पाँच खेलबाट चार अंक बनाउँदै समूह-१ को चौथो स्थानमा विश्वकप टुंग्याउँदा आयरल्यान्ड पाँचौँ र अफगानिस्तानले छैटौँ हुँदै विश्वकपको यात्रालाई सकाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।