पोखराको प्रतिष्ठित आहारारा गोल्ड कप आगामी पुस १२ गतेदेखि पोखरा रंगशालामा हुने भएको छ । गोल्डकप आयोजक संस्था सहारा क्लब पोखराले आज एक विज्ञप्ति निकालेर पुस १२ गतेदेखि २३ गतेसम्म प्रतियोगता हुने जानकारी दिएको हो ।

 

क्याराभान गोल्ड कपसहित सहाराले आयोजना गरेको गोल्ड कपको यो २२ औं संस्करण हो । क्लबका महासचिव रामजीप्रसाद अधिकारीले दिएको जानकारी अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुस १२ देखि २३ सम्मका गोल्ड कपको मिति तय गरेको हो ।

 

एन्फाले मिति तोकिदिएपछि गोल्ड कपको तयारीमा जुटेको क्लबका अध्यक्ष हरिराम गुरुङ सुरजले बताए । प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय क्लब, विदेशी टिम, आयोजक सहारा क्लबसहित १२ टिटको सहभागिता रहनेछ । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ छ ।

 

२०५९ सालदेखि नै मुख्य प्रायोजक रहेकाे हिमश्री फुड्सले १०/१० वर्षको सम्झौता गर्दै आएकोमा यो वर्ष सम्झौता सकिँदै छ भने आगामी १० वर्षको लागि नयाँ सम्भौताको तयारी भएको सहारा क्लब पोखराले जानकारी दिएको छ । गत वर्ष सशस्त्र प्रहरी बलको एपिएफले मनाङ मर्स्याङदी क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पहिलो पटक गोल्ड कप उचालेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।