कास्की क्षेत्र नम्बर १ (१) का गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बनेका दीपक कोइरालाले लेखनाथको भण्डारढिकमा रहेको रंगशालालाई राष्ट्रिय स्तरको रंगशालामा स्तरोन्नति गर्ने आश्वासन दिएका छन् ।

कोइरालाले अघिल्लो कार्यकालमा आफ्नै नेतृत्वमा रंगशालाको मुहार फेरिएको बताउँदै आगामी निर्वाचनमा विजयी भएमा उक्त रंगशालालाई राष्ट्रिय स्तरको रंगशालाका रुपमा स्तरोन्नति गर्ने योजना सुनाए ।

‘खेलकुदसँग मेरो विशेष सम्बन्ध र लगाव छ । अनि अनुभव पनि छ,’ उनले भने, ‘क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)को कार्यवाहक अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष रहँदा उल्लेख्य काम भएका छन् । कास्की १ (१)मा निर्वाचित भएपछि भण्डारढिक रंगशालाको मुहार फेर्ने प्रयास रह्यो । गठबन्धनका उम्मेदवारको विजयले मात्रै यो सम्भव छ ।’

चुनावी अभियानका क्रममा बिहीबार पोखरा ३० का ठाटडाँडा, गौडाको मुख, शिशुवा, मोहरिया, खुदी, ढुंगेपाटन, साँघुको मुख, पावरहाउस, गगनगौंडा लगायतका क्षेत्रमा भएका कोणसभामा कोइरालाले आफूले जनतलाई ठूला सपना बाँढेर भ्रमित नपार्ने बताए ।

कोणसभामा उनले भने, ‘म अरुले जस्तो रेल र पानी जहाजका सपना बाड्दिनँ । घरदैलो अगाडिका खाल्डाखुल्डी पुर्छु, बाटा बनाउँछु । खानेपानी र सिंचाईका लागि पहल गर्छु ।’

उनले स्थानीय तहको निर्वाचनपछि थपिएका नयाँ मतदाताले आफूलाई भोट हाल्ने विश्वास व्यक्त गरे । ‘युवाको रोजाइ युवा नै हुनेमा म ढुक्क छु । त्यसैले मेरो जित सुनिश्चित छ,’ उनले भने । उनले अबको कार्यकाल अविस्मरणीय र सम्झन लायक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।