नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले जतिजति प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरे, सबैमा पराजय बेहोरे । जनप्रतिनिधि बन्ने आकांक्षा पूरा गर्न २०५६ मा उनले राष्ट्रिय सभाको बाटो रोज्नुपर्‍यो । ५५ वर्ष कांग्रेसको राजनीति गर्दा पनि कुनै सरकारी कार्यकारी जिम्मेवारी पाउन सकेनन् । राजनीतिक जीवनको उत्तराद्र्धमा आएर उनले फेरि एउटा आकांक्षा राखे—गण्डकी प्रदेशको मुख्यमन्त्री ।

मुख्यमन्त्री सुनिश्चित गर्ने हेतुले नै कांग्रेसको १४ औं महाधिवेशनमा गण्डकी प्रदेश समिति सभापति बन्ने बाटो समाए । पर्वतका प्रभावशाली नेता अर्जुन जोशीलाई पराजित गरी सभापति भएपछि गण्डकी प्रदेश सभा सदस्य हुँदै मुख्यमन्त्री बन्ने उनको चाहना झनै मौलायो ।

तर, प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनमा होमिन भने आँटेनन् । बरु समानुपातिक सूचीमा बसेर सजिलै प्रदेश सभा सदस्य बन्ने बाटो रोजे । त्यसो त २०७४ मा कास्की ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुँदा एमालेका जगत विश्वकर्मासँग उनको पराजय भएको थियो ।

३३ प्रतिशत महिला सांसद पुर्‍याउन कांग्रेसले समानुपातिकतर्फ सबै महिलालाई पठाउनु पर्ने देखिन्छ

गण्डकी प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसले बुझाएको समानुपातिक सूचीमा शर्माको नाम १ नम्बर प्राथमिकतामा छ । तर, मुख्यमन्त्री बन्ने उनको ख्वाब पूरा नहुन पनि सक्छ । मुख्यमन्त्री बन्न आवश्यक पहिलो सर्त नै प्रदेश सभा सदस्य हो । त्यसपछि संसदीय दलको नेता । संसदीय दलको नेता भइसकेपछि सरकारको नेतृत्व कांग्रेसकै भागमा पर्नुपर्‍यो ।

तर, मुख्यमन्त्रीको ख्वाब साकार पार्न पार गर्नुपर्ने पहिलो खुड्किलो अर्थात प्रदेश सभा सदस्य निर्वाचित हुनुपर्ने मामलामै शर्मा असफल हुन सक्ने देखिएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक सांसद हुन्छन् ।

त्यसमध्ये ३३ प्रतिशत महिला हुनै पर्छ । संसदमा प्रतिनिधित्व गर्ने दलहरुका सांसदहरुको संख्या ३३ प्रतिशत महिला हुनै पर्छ । त्यस हिसाबले नेपाली कांग्रेसले अहिलेसम्म प्रत्यक्षमा जितेका र समानुपातिकमा प्राप्त गर्ने संख्याको अड्कल गर्दा शर्मा सांसद बन्न मुस्किल देखिन्छ । समानुपातिक सूचीबाट कांग्रेसले पाउने कोटामा सबै महिलालाई मात्रै पठाउनुपर्ने देखिन्छ ।

  • गण्डकीको गणित
  • दल प्रत्यक्ष जितेका सिट समानुपातिकमा सम्भावना जम्मा
  • एमाले १२ १० २२
  • कांग्रेस १६ ९ २५
  • माओवादी केन्द्र ५ ४ ९
  • राप्रपा ० १ १
  • स्वतन्त्र १ ० १
  • स्याङ्जाका २ प्रदेश सभा निर्वाचन क्षेत्रको नतिजा आउनै बाँकी छ
  • गण्डकीमा समानुपातिक मत (स्याङ्जा २ को गणना बाँकी छ)
  • दल मत
  • एमाले ३४०५३३
  • कांग्रेस ३१७५९६
  • माओवादी ११५३६६
  • राप्रपा ५७११६

अहिलेसम्म कांग्रेसबाट १६ जना प्रदेश सांसद निर्वाचित भइसकेका छन् । स्याङ्जा २ प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन क्षेत्रको नतिजा भने बाँकी नै छ । स्याङ्जाबाट प्रदेश सभाका उम्मेदवार दुवैजना पुरुष नै छन् । ती २ मध्ये एकमा मात्र कांग्रेसले जित्यो भने समानुपातिक सूचीबाट पुरुष सांसद बन्ने सम्भावना शून्य हुन्छ ।

किनभने अहिलेसम्मको समानुपातिक मतपरिणाम अनुसार कांग्रेसले समानुपातिकबाट ९ सांसद पाउने देखिन्छ । स्याङ्जाका दुवै प्रदेश सभा हारे पनि गण्डकी प्रदेश सभामा कांग्रेसका १६ प्रत्यक्ष र ९ समानुपातिक गरी २५ सांसद हुनेछन् । स्याङ्जा जित्यो भने त २७ सम्म पुग्न सक्छ ।

प्रदेश सभामा कम्तीमा ३३ प्रतिशत महिला सांसद पुर्‍याउनै पर्ने संवैधानिक बाध्यताका कारण २५ जना मात्रै प्रदेश सभा सदस्य भए पनि त्यसको ३३ प्रतिशत पुर्‍याउन कांग्रेसले सबै ९ जना महिलालाई नै समानुपातिक सांसद पठाउनु पर्नेछ । यसो गर्दा एकजना पुुरुष पनि समानुपातिकबाट सांसद बन्न पाउने छैनन् । यस्तो अवस्थामा शर्मा सांसद नहुने सम्भावना देखिन्छ । सांसद नभएपछि मुख्यमन्त्री बन्ने कुरै भएन ।

नेपालको संविधानको भाग १४ मा प्रदेश सभा सम्बन्धी व्यवस्था छ । धारा १७६ मा प्रदेश सभा गठनबारे उल्लेख छ । उक्त धाराको उपधारा ९ मा प्रष्ट भनिएको छ—प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको एक तिहाइ सदस्य महिला हुनु पर्नेछ ।

नेकपा एमालेका हकमा भने कांग्रेसलाई जस्तो समानुपातिक सूचीबाट पाउने कोटामा सबै महिला उम्मेदवारलाई मात्रै नपठाउँदा पनि हुनसक्छ । किनभने उक्त पार्टीले प्रदेश सभा सदस्यमा उठाएका ३ जनामध्ये २ जनाले निर्वाचन जितेका छन् । स्याङ्जा १ (१) बाट सीता सुन्दास र नवलपुर २ (१) बाट पद्मा जिसी विजयी भएकी छन् । एमालेले अहिलेसम्म १२ सिट प्रत्यक्षमा जितेको छ । समानुपातिकबाट ९ वा १० जना पाउँदा २१ वा २२ को ३३ प्रतिशत ७ जना महिला पुर्‍याउँदा हुन्छ ।

अहिलेसम्म गण्डकीमा समानुपातिक मतमा नेकपा एमाले सबैभन्दा ठूलो दल छ । उसले ३ लाख ४० हजार ५ सय ३३ मत पाएको छ । कांग्रेसले ३ लाख १७ हजार ५ सय ९६ मत ल्याएको छ । तेस्रोमा माओवादी छ । उसले १ लाख १५ हजार ३ सय ६६ मत ल्याएको छ । गण्डकी प्रदेशमा चौथो दल राप्रपा देखिएको छ । समानुपातिकमा राप्रपाले ५७ हजार १ सय १६ मत पाएको छ । राप्रपाको भागमा १ वा २ सिटको सम्भावना छ ।

समानुपातिकबाट प्रदेश सभा सदस्य बनाउनका लागि कुनै पनि दलले खसेको कूल मतको १ दशमलव ५ प्रतिशत प्राप्त गर्नुपर्छ । त्यति मत नल्याएका दलको मत स्वतः खेर जान्छ । बाँकी मतका आधारमा मात्रै अरु दललाई सिट बाँडफाँट गरिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।