पोखरामा भोलि बुधबार दोश्रो मेयर कप साइकल दौड हुने भएको छ । टूर दि पोखराको पुर्वसन्ध्यामा पोखरा महानगरपालिका खेलकुद विकास समितिले मेयर कप साइकल दौड आयोजना गर्न लागेको हो ।

पोखराको ५० किलोमिटर दुरीमा हुने साइकल दौड प्रतियोगितामा विभिन्न जिल्लाका ६० भन्दा बढी खेलाडी सहभागी हुने समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए ।

प्रतियोगितामा ४० वर्षमुनिको महिला–पुरुष र ४० वर्षमाथि गरी तीन विधामा दौड हुने छ । पोखरा २१ बाट सुरु हुने प्रतियोगिता मट्टिखान, धुवाँरकोट, बाघखोर, भालुडाँडा हुँदै कमेरेमा पुगेर समापन हुनेछ ।

यस्तै, यस प्रतियोगितामा ४० वर्षमुनिको महिला र पुरुषतर्फ पहिलो हुनेलाई ३० हजार, दोस्राे हुनेलाई २० हजार र तेस्राेलाई १० हजार रुपैयाँ पुरस्कार राखिएको छ ।

४० वर्षमाथिको विधामा पहिलोलाई १० हजार, दोस्राेलाई ७ हजार र तेस्राेलाई ५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ ।

यसैक्रममा साइकल सिटी पोखराको आयोजनामा आगामी पुस ९ गते शनिबार ‘टुर दि पोखरा’ हुँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।