ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी प्रहरीको फन्दामा परेका छन् । डीएसपी केसीलाई प्रहरीको अनुसन्धान टोलीले आइतबार साँझ निवासबाट नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रवीन्द्र रेग्मीले केसी नियन्त्रणमा परेकोबारे आफूले पनि थाहा पाएको स्थानीय पत्रकारहरूलाई बताएका छन् । उनले डीएसपी केसीलाई नियन्त्रणमा लिएको विषयमा आधिकारिता नरहेको बताएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक कमल थापाले प्रहरी प्रधान कार्यालयको निर्देशनमा केसीमाथि अनुसन्धान अगाडि बढाएको बताएका छन् ।

स्रोतका अनुसार लुम्बिनी प्रदेशका प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्यायको समेत कनेक्सन रहेको छ । समाचार स्रोतले सो सुनकाण्डमा डीआइजी उपाध्यायको संलग्नता रहेको दाबी गरेको छ ।

खानतलासीका क्रममा केसीको कोठाबाट लाखौं नगद फेला परेको छ । केसीले मंसिरमा बुटवलका व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएका थिए । केसीको कोठाबाट ३५ तोला सुन र २५ लाख रुपियाँ नगद बरामद भएको प्रहरी स्रोतले जनाएको छ । सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपियाँ मागेको आरोप केसीलाई छ । डीएसपी केसलाई व्यापारीले २५ लाख रुपियाँ बुझाए पनि सुन फिर्ता लिन पाएका थिएनन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।