पुस ७ गतेदेखी लेखनाथमा जारी १८ औं संस्करणको लेखनाथ महोत्सवमा कृषक र कृषि उत्पादनले राम्रो स्थान पाउन सफल भएको छ ।
महोत्सवमा कुल ३ सय ३७ स्टलहरुमध्ये कृषि उत्पादनका मात्रै ४५ स्टलहरु रहेका छन । त्यतिमात्रै हैन महोत्सवमा बृहत कृषि मेला प्रर्दशनीको पनि व्यबस्था मिलाईएको छ । जहाँ पोखरा महानगरपालिका भित्रका ३३ वटै वडाका ५ सय किसानहरुले विभिन्न किसिमका कृषि उपजहरु प्रर्दशनीमा राखेका छन ।
पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा र आयोजकको समन्वयमा राखिएको प्रर्दशनीमा विभिन्न किसिमका फलफुल तथा तरकारी, बिउ विजन, कृषि प्रविधिहरुका उत्कृष्ट नमुनाहरु प्रर्दशनीमा राखिनुका साथै माटो परिक्षणको व्यवस्था समेत मिलाईएको छ । जहाँ माटोको उर्वराशक्ति तथा क्षमता, अम्लीयपन कस्तो छ भनेर किसानलाई जानकारी पनि दिने गरिन्छ । प्रर्दशनीमा सहभागी किसानहरुमध्येबाट ५५ जनालाई पुरस्कृत समेत गरिएको संघका कृषि उप–समितिका संयोजक दयाराम तिवारीले जानकारी दिए ।
महोत्सवमा रहेका कृषिका ४५ स्टलहरु मध्ये ताजा तरकारीका २५, सुन्तला तथा फलफुलका १५ र माछाका ५ वटा स्टलहरु रहेका छन । माछाका स्टलहरुमा बेगनासताल, रुपाताल, खास्टेताल र न्यूरेनीतालका माछाहरु संकलन गरेर विक्रिका लागी राखिएको छ भने केही स्टलहरुमा तत्काल स्वाद लिन पाउने गरी ग्रिल गरेर समेत राखिएको छ । महोत्सवमा दैनीक रुपमा सरदर ३ सय केजी माछा बिक्रि हुने गरेको तिवारीले जानकारी दिए ।
सुन्तला प्रर्दशनीबाट शुरु भएको लेखनाथ महोत्सवमा कास्की र आसपासका जिल्लाहरुबाट ल्याईएका सुन्तलाहरु पनि दर्शकहरुले खरिद गर्न पाउनेछन । सुन्तलाका ५ वटा स्टलहरुमा कास्कीको कृष्ती, बाग्लुङ, पर्वत र स्याङ्गजामा उत्पादन भएका सुन्तलाहरु राखिएका छन । ति स्टलहरुमा दैनिक सरदर ५ सय केजी सुन्तला बिक्रि हुने गरेको छ ।
ताजा तरकारीमा स्थानिय क्षेत्रकै उत्पादनहरुको बाहुल्यता छ । लेखनाथमै उत्पादन भएका तरकारीहरुदेखी कास्कीको हेमजासम्मका उत्पादनहरु स्टलहरुमा देख्न पाईन्छ । विभिन्न कृषक समुह, आमा समुहहरुले स्थानिय किसानका उत्पादनहरु संकलन गरी महोत्सवमा विक्रि वितरणको व्यवस्था समेत मिलाएको पाईन्छ । सँगै महोत्सवमा रहेका विभिन्न होटल तथा रेष्टुरेण्टहरुले महोत्सवमा रहेका कृषि उपजका स्टलहरुबाटै सामान खरिद गर्ने गरेका छन ।
कृषि उत्पादनमा लेखनाथलाई निश्चिीत कुनै एउटा ब्राण्डको रुपमा स्थापित गर्न नसकिएको अवस्था भएपनि स्थानिय स्तरमा उत्पादन भएका विभिन्न कृषि उत्पादनले भने महोत्सवमा राम्रै वजार पाएका छन । स्थानिय तालका माछा, मह, फलफुल, ताजा तरकारी, जडिबुटि, विभिन्न स्थानिय प्रजाती जेठोबुडो, गुर्दी, घैया, मन्सरा लगायतका चामल जस्ता कृषि उपजको किनमेल मात्रै हैन महोत्सव अवलोकन गर्न आउने दर्शकहरुले कृषि सम्बन्धी परामर्श र कृषि व्यवसायमा प्रयोग हुने परम्परागत तथा आधुनिक सामग्रीहरुको अवलोकन पनि गर्ने गरेका छन, यसले कृषि उत्पादनको बजारीकरण र प्रर्वद्धनमा टेवा पुर्याउनुका साथै लेखनाथ महोत्सवलाई कृषकको पनि महोत्सवको रुपमा स्थापित गराएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।