‘सडकमै खाऔँ, सकडमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पोखरामा बुधवारदेखि २४ औँ सडक महोत्सव शुरु भएको छ । रेवान पोखराले अंग्रेजी नयाँ वर्षको स्वागतमा विगत २३ वर्षदेखि महोत्सवको आयोजना गर्दै आएको छ ।

लेकसाइडको हल्लनचोकबाट शुरु भएको विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली कोमागाने पार्क पुगेपछि सडक महोत्सव औपचारिकरूपमा शुरु भएको हो ।

पोखराको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको झन्डै तीन किलोमिटर खुला सडकमा महोत्सव सञ्चालन भएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी मेला आयोजना गरिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए ।

खुला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै सांस्कृतिक तथा विभिन्न कार्यक्रम सञ्चालन हुने छ । महोत्सवलाई लक्षित गरी लेकसाइड क्षेत्रलाई दुलही झैँ सिँगारिएको छ । महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालन हुने सडकका दायाँ-बायाँ रङ्गरोगन गर्नुका साथै ध्वजा पताका टाँगिएको छ ।

महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खानेकुरा, लत्ताकपडा, बाल उद्यान मुख्य आकर्षण रहेका छन् । पाँच दिने सडक महोत्सवमा नेपालका विभिन्न जिल्ला र विदेशका समेत सांस्कृतिक कार्यक्रमका प्रस्तुत हुने छ ।

महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।