साविक लेखनाथ नगरपालिकाको प्रशासनिक भवन भएको तालचोकमा पोखरा महानगरपालिका वडा नं २७ को कार्यालय बन्ने भएको छ ।

 

लामो समयदेखी भाडाको घरमा कार्यालय सञ्चालन गरी सेवा प्रदान गर्दै आईरहेको पोखरा महानगरपालिका वडा नं. २७ को सुबिधा सम्पन्न कार्यालय भवन बनाउने भएको हो ।

निर्माण हुने भवनको शनिबार वडाध्यक्ष पुर्ण कुमार गुरुङले शिलान्यास गरेका छन । भवनको शिलान्यास गर्दै वडाध्यक्ष गुरुङले नयाँ भवनमा लिप्ट सहितको सुविधा सम्पन्न भवन निर्माण भएपछि वडाका सेवाग्राहीले सर्वसुलभ र थप व्यवस्थीत तरिकाले सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन ।

साविक लेखनाथ नगरपालिकाको कार्यालय परिसरभित्र पुर्वतर्फको भागमा २४१ वर्गमिटर क्षेत्रफलमा बन्ने उक्त अत्याधुनिक सुविधासम्पन्न भवन ३ तलाको हुनेछ भने भुकम्प प्रतिरोधी,अपाङ्ग तथा जेष्ठ नागरिकमैत्री समेत हुने वडाध्यक्ष गुरुङ्गले जानकारी दिए ।

कुल चार करोड ३० लाखको लागतमा निर्माण हुने भवन निर्माणको ठेक्का नेचुरल फर्निसिङ एण्ड कन्सट्रक्सन प्रा.लि. काठमाण्डौले प्राप्त गरेको छ । २०७९ माघमा ठेक्का सम्झौता भएको र २०८० माघसम्म भवन निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य लिएको निर्माण कम्पनीका प्रतिनिधी रमेश मैनालीले बताएका छन् ।

पोखरा महानगरपालिका बनेपछि अहिलेसम्म वडा नं २,७,११,१२,१९,२०,२२,३०र ३२ ले नयाँ भवनबाट सेवा प्रवाह गरिसकेका छन् भने वडा नं ५,६,८,१७,१८,२६,२७ र ३१ मा भने नयाँ भवन बन्ने प्रक्रिया रहेको पोखरा महानगरपालिकाका सव ईन्जिनियर द्रर्पण पोखरेलले जानकारी दिएका छन् ।

साविक लेखनाथ नगरपालिकाको पुरानो प्रशासनिक भवन वडा नं २७ को कार्यालय संचालन भईरहेको अवस्थामा कोभिडको समयमा पोखरा महानगपालिकाले शिसुवा अस्पताल मार्फत कोभिड उपचार केन्द्र संचालन गर्दै आएको भए पनि अहिले उक्त भवन खाली अवस्थामा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।