पोखरामा आइतबारदेखि ‘स्टार्स समर क्याम्प २०७९’ सुरु भएको छ । वार्षिक परीक्षा पश्चात फूर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको आयोजनामा यो कार्यक्रम सुरु भएको हो । चैत्र २८ गतेसम्म सञ्चालन हुने क्याम्पले बालबालिकाको व्यक्त्तित्व तथा नेतृत्व विकास गर्ने अवसरका साथै नयाँ साथीहरुसँग घुलमिल हुने र रमाउने अवसर प्राप्त गर्ने कार्यक्रम संयोजक जसु गुरुङले बताइन् ।

‘समर क्याम्पमा बालबालिकाले व्यक्तिगत एवं सिर्जनात्मक सिकाईको बारेमा बुझन् पाउनेछन्, यसका अलावा शिक्षामुलक ज्ञान लिदैँ साथीहरुबिच आत्मियता तथा आत्मविश्वास बढाउदै आत्मनिर्भर बन्न सिक्नेछन्’ उनले भनिन् ।

बालबालिकामा सामाजिक सीप हस्तान्तरण गरि उनीहरुमा व्यक्तित्व एवं नेतृत्व विकास गराउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी बन्न इच्छुकले सोमबारसम्म सम्पर्क राख्न सक्ने आयोजक संस्थाकी अध्यक्ष समेत रहेकी गुरुङले जनाइन् ।

क्याम्पमा हुने नयाँ प्रतिभा पहिचान, सामुहिक कार्य, रमाइलो वातावरण तथा बाहिरी अनुभव लगायतले उनीहरुलाई आगामी दिनमा सफलता प्राप्त गर्न मद्दत गर्ने उनको विश्वास छ ।

 

क्याम्पमा सहभागी बालबालिकाले फेस पेन्टिङ, योगा, नाटक, गायन, नृत्य, संगीत, सेल्फ डिफेन्सको लागि तेक्वान्दो, कँराते, स्विमिङ सहित अन्य रमाइला इन्डोर तथा आउट डोर गेम खेल्न पाउनेछन् ।

स्टोरी टेलिङ, पब्लिक स्पिकिङ, कल्चरल फोटोसुट, बिबिक्यु नाइट, आर्ट काफ्ट ड्रइङ, मोमो बनाउने सिप मात्र नभएर विभिन्न पर्यटकिय ठाउँ घुम्न अवसर समेत उनीहरुलाई मिल्नेछ ।

१० दिने कार्यक्रममा आयोजकले यातायात, होस्टेल, खानाखाजा, स्वास्थ्यकर्मी एम्बुलेन्स तथा अवधिभर चाहिने सम्पूर्ण सामाग्रीको व्यवस्था मिलाएको आयोजकले जनाए ।

कुल २५ वटा क्लास मार्फत नेपाली तथा विदेशी प्रशिक्षकले बाबुनानीलाई रमाइलो माहोलमा ज्ञान हस्तान्तरण गर्ने उनीहरुको भनाई छ । कार्यक्रम पोखरामा दोस्रोपटक आयोजना गरिएको हो । यस अगाडि गत बैशाखमा पहिलो संस्करणको स्टार्स समर क्याम्प सम्पन्न भएको थियो ।

स्टार्स स्टुडियो नेपाल नेपाली मौलिक लोकसंस्कृति र सांस्कृतिक नृत्यहरुको संरक्षण र प्रर्वद्धनका लागि क्रियाशिल संस्था हो । यसको कार्यालय न्युरोड पोखरामा रहेको छ । लोक नृत्यको प्रशिक्षणका साथै विभिन्न जातजातीको मौलिक भेषभुषाको संरक्षण, फिल्म निर्माण, इभेन्ट मेनेजमेन्ट लगायतको क्षेत्रमा यसले काम गरिरहेको छ । यस्तै स्टार्स फाउन्डेसन नेपालले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।