कास्कीको मादी गाउँपालिकामा पर्ने चारसहित पाँचवटा पुल एकैदिन उद्घान गरिएको छ । मादी गाउँपालिकामा चार र तनहुँ-कास्की जोड्ने एक मोटरेबल पुल शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका हुन् । उद्घाटन गरिएका मादीमा पर्ने इदी खोला, मकैखोला र वार्दी खोला पुल संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७७ मंसिर १० गते एकैदिन शिलान्यास गरेका थिए ।

मुख्यमन्त्री अधिकारीले संघीय सरकारको सडक विभागले निर्माण गरेको मादी गाउँपालिका-९ सिम्ले र वडा नं. १२ जोड्न मादी नदी माथिको घुम्ले पुल साथै प्रदेशको पूर्वाधार विकास कार्यालयले निर्माण गरेको पोखरा महानगरपालिका-३२ र तनहुँको शुक्लागण्डकी नगरपालिका-१ जोड्ने खुदी खोला–ताल खोला दोभान मोटरेबल पुल उद्घाटन गरेका हुन् ।

मादी गाउँपालिकामा निर्मित ३ वटा पुल गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय कास्कीले र संघीय सरकार सडक विभागले निर्माण गरेका हुन् । मन्त्रालयका सचिव तुलसीराम भट्टराईका अनुसार मादी गाउँपालिका-४ र ११ जोड्ने गरी इदीखोलाको मोटरेबल पुल ४ करोड २३ लाख ५५ हजार ७ सय ६२ रुपैयाँ लागतमा निर्माण गरिएको हो । ३१ दशमलव २० मिटर लम्बाईको उक्त पुलको चौडाइ ११ मिटर छ । यसको क्यारिज वे (भारवहन क्षेत्र) ७ दशमलव ५ मिटरको रहेको छ । प्रिस्ट्रेस्ड आरसीसी टी–गर्डर प्रविधिको यो पुल गजिन्द्र निर्माण सेवा प्रालि स्याङ्जाले निर्माण गरेको हो ।

उक्त निर्माण कम्पनीले मादी गाउँपालिका-१० को मकैखोलामा आरसीसी टी बीम प्रविधिको पुल २ करोड ३१ लाख १० हजार ५ सय १६ रुपैयाँमा निर्माण गरेको छ । २५ दशमलव ६५ मिटर लामो उक्त पुल ८ दशमलव ४ मिटर चौडाइको छ । यसको क्यारिज वे ६ मिटर रहेको छ ।

राखी मिजुरे सडक खण्डको मादी गाउँपालिका-९ र १० जोड्ने वार्दी खोलाको पुल नयाँबाटो–भदौरे जीएस इन्जिनियरिङ जेभीले निर्माण गरेको हो । ४ करोड ३९ लाख ८ हजार ९ सय ९७ रुपैयाँ लागतमा निर्माण गरिएको प्रिस्ट्रेस्ड आरसीसी टी–गर्डर प्रविधिको उक्त पुल ३६ दशमलव २ मिटरको रहेको छ । ११ मिटर चौडाइको उक्त पुलको क्यारिज वे ७ दशमलव ५ मिटरको छ । सचिव भट्टराईले इदी खोला पुल र वार्दी खोला पुल निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) लोकमार्गको मापदण्डको बनाइएको बताए ।

खुदी खोला–ताल खोला दोभान जय विष्णु–विवके एण्ड कुबेर जेभीले ३ करोड ७१ लाख ७५ हजार ५ सय ६३ रुपैयाँमा निर्माण गरेको हो । आरसीसी टी–बिम प्रविधिमा निर्मित डबल स्पामको यो पुलको लम्बाई २५ मिटर बढी छ ।

मुख्यमन्त्री अधिकारीले मादी गाउँपालिका-९ सिम्ले र वडा नं. १२ जोड्ने मादी नदी माथिको घुम्ले पुलको पनि उद्घाटन गरे । यो पुल संघीय सरकारको सडक विभागको लगानीमा उक्त सडक निर्माण गरिएको हो । कांग्रेस नेता गणेश लामाको सिरुवा कन्स्ट्रक्सनले उक्त सडक निर्माण सक्न ८ वर्ष लगाएको थियो ।

मुख्यमन्त्री अधिकारीले पुलको उद्घाटनका क्रममा विकासले गाउँमा फड्को मारेको दाबी गरे । ‘हिजो कसैले नचिताएको ठाउँमा आज पुल बनेको छ, सडक बनेको छ । अब हामीले सडक र पुलको अधिकतम प्रयोग गरी गाउँमा कृषि उत्पादन बढाएर सहरमा बिक्री गर्नुपर्छ’ उनले भने । उनले विदेशबाट पठाएको रकम सहरमा जग्गा जोड्न नभई गाउँमा कृषि उत्पादनमा लगानी गर्न आग्रह गरे ।

गण्डकी प्रदेश कृषि, उर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले विकासले हिजोको विकटलाई आज निकट हुने क्रममा रहेको बताए । ‘मादीको पूर्वीभेग निकै विकट थियो । हामीले यहाँ सडक बनायौं, पुल बनायौं,’ उनले भने । उनले विकासमा एकमतका कारण समयमै विकास निर्माणका काम सम्पन्न हुँदै गएको बताए ।

पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख महेन्द्र बानियाँले कोरोना संक्रमण जोखिम, बाढीपहिरोलगायत समस्याका बाबजुत पनि पुल निर्माणकार्य समयमै सकिएको बताए । मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले पुल निर्माणपछि विकटका नागरिकलाई सहज भएको बताए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।