कास्कीको पोखरा महानगरपालिका–१५ मा रहेको सीताराम पुल नजिकै जमिन चिरा पर्दा बनेको प्वालमा खसेर एक बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिवार दिउँसो करिब तीन बजेको समयमा पोखरा महानगरपालिका–८ नागढुङ्गा बस्दै आएकी १२ वर्षीया स्मृति पराजुली चिप्लेर भ्वाङमा खसेकी थिइन्।

घटनाको बारेमा जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय बैदामबाट पहरी निरीक्षक नेत्रबहादुर कुँवरको कमान्डमा उद्धार टोली पुगेको थियो।

बालिकाको उद्धार हुन नसकेपछि वडा प्रहरी कार्यालय रामबजार, सशस्त्र प्रहरी कालिका गणबाट गएको टोली र नेपाली सेनाको थप बल सहित बालिकाको खोजी थालिएको थियो। करिब साढे दुई घण्टासम्म पनि बालिकाको अवस्था पत्ता नलागेकोमा साँझ पाँच बजे भने उद्धारकर्ताहरूको टोलीले उनलाई भ्वाङबाट बाहिर निकालेको थियो।

गम्भीर अवस्थामा रहेकी उनलाई उपचारको लागि तत्काल नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएकोमा साँझ सात बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।