काठमाडौँ, ४ असार : कुनै समय रोजगारीको खोजीमा भौँतारिएकी ताप्लेजुङ मैवाखोला गाउँपालिका–६ थोपेङकी लाप्साङ शेर्पा अहिले निकै खुसी देखिनुहुन्छ । जिल्लाका विभिन्न सङ्घसंस्था र कार्यालयहरुमा काम खोज्दै भौँतारिइरहेकी लाप्साङलाई यतिबेला रोजगारीको कुनै चिन्ता छैन, बरु उहाँ अचेल आफ्नो सीप देखाएर अझ राम्रो कमाई गर्ने अवसरको खोजीमा हुनुहुन्छ ।

सही ऊर्जा, धैर्य, लगनशीलताले हामी जुन पनि लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने एक उदाहरण बन्नुभएको छ उहाँ । मौसमी काम गरेर दैनिकी चलाउँदै आएकी उहाँलाई अब कसले काम देला भन्ने पिरलो छैन, उहाँमा यतिबेला सीप बेच्न सकियो भने चाहेजति कमाउन सकिन्छ भन्ने आत्मविश्वास भरिएको छ ।

 

निम्नवर्गीय घरमा जन्मिएकी उहाँको सानै उमेरमा बिहे भएको थियो  । कुनै औपचारिक शिक्षा नलिए पनि उहाँमा सधैँ केही न केही सीपमूलक व्यवसाय गर्ने रुचि भने थियोे र नयाँ अवसरहरुको खोजीमा हुनुहुन्थ्यो । केही समय अगाडि उहाँले जिल्ला घरेलु कार्यालय ताप्लेजुङबाट तान बुन्ने तालिम लिनुभयो र अल्लो कपडा बुन्न सुरु गर्नुभयो । कपडा बुन्न चाहिने धागो भने गाउँमा उपलब्ध नभएका कारण उहाँले छिमेकी जिल्ला सङ्खुवासभाबाट अल्लोको धागो मगाई कपडा बुन्न थाल्नुभयो । पटकपटक धागो मगाइराख्न असहज भएकाले लाप्साङले कपडा बुन्ने कामलाई निरन्तरता दिन सक्नुभएन ।

 

ती दिनहरु सम्झँदै उहाँ भन्नुहुन्छ, “अल्लो यहाँ प्रशस्तरुपमा पाइन्छ । आफैँ धागो बनाउन जाने त सङ्खुवासभाबाट धागो मगाइराख्ने झञ्झट नै हुँदैनथ्यो र सजिलैसँग कपडा बुन्न सक्थेँ ।’’ उहाँको त्यो सपनालाई सार्थकता दियो जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय ९बिएमजेड० को लागि जर्मन विकास सहयोग ९जिआइजेड० को सहयोगमा सञ्चालित नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमले । उहाँका लागि यो तालिम ‘ढुङ्गा खोज्दा देउता पाए’ जस्तै भयो । उहाँले तुरुन्तै आफ्नो गाउँपालिकासँग समन्वय गरी तालिममा आफ्नो सहभागिता सुनिश्चित गराउनुभयो । सो कार्यक्रममार्फत लोधुम्वाखोला लघु जलविद्युत् आयोजना क्षेत्रका महिला तथा पिछडिएका वर्गहरुलाई लक्षित गरी गत भदौ १७ देखि २३ गतेसम्म अल्लोको धागो निकाल्ने र कपडा बुन्ने तालिम सञ्चालन गरेको थियो ।

 

सदरमुकाममा रहेका घरेलु उद्योगहरुको अध्ययन गर्दा त्यहाँ तानबाट अल्लो कपडा बुन्ने उद्योगहरु भए पनि यस्ता उद्योगलाई आवश्यक पर्ने मुख्य कच्चा पदार्थ अल्लो धागो उत्पादन हुने गरेको थिएन । सात दिनसम्म सञ्चालन भएको तालिममा उहाँमा अल्लो बनाउने सीपको राम्रो विकास हुनसक्यो । यसले उहाँमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास अझ बढेर आयो । तालिमपश्चात् अझ हौसिएकी लाप्साङले बिहान बेलुका धागो कात्ने र त्यही धागोबाट कोट र सलका कपडा बुन्ने कामलाई पुनः निरन्तरता दिनु भएको छ् ।

 

आफ्नो घरायसी कामकाज सकेर फुर्सदको समयमा अल्लोको कपडा बनाएर समयको सदुपयोग र आम्दानी गर्न सकिने भएकाले सीपमुलक तालिम लिएको स्थानीय विपना गुरुङको भनाइ छ । लाप्साङ, विपना गुरुङ, सुकमाया शेर्पा मात्र होइनन् उक्त तालिम पाएपछि उहाँहरूसँगै १२ जनालाई यतिबेला काम खोज्दै हिँड्नुपर्ने बाध्यता टरेको मात्र होइन, स्वरोजगार र उद्यमी बन्ने अवसर जुरेको छ । उहाँहरुले तालिम लगत्तै गाउँपालिकामा आफ्नो व्यवसाय पनि दर्ता गराउनुभएको छ । तालिममा उहाँहरुलाई अल्लोको धागोबाट कोट, जुहारीकोट, टोपी, गलबन्दी, झोला, हातेब्याग, पर्सलगायतका पोशाक र सामान बनाउने सीप सिकाइएको थियो ।

 

लाप्साङले आफूले बुनेका विभिन्न कपडाहरु फुङ्गलिङ बजारमा र छिमेकी जिल्लाहरुमा आयोजना हुने महोत्सवहरुमा विक्री गर्दै आउनु भएको छ । मिहिनेत र उद्यमबाट राम्रो सफलता पाउन सकिन्छ भन्ने राम्ररी बुझिसकेकी लाप्साङले आफ्नो उत्पादन बढाउने तान र धागो कात्ने मेसिन खरिदका लागि करिब रु एक लाख लगानी गरेको बताउनुहुन्छ । अल्लोबाट धागो निकाल्ने र यसबाट कपडा बनाएर बेच्दा राम्रो कमाइ गर्न सकिनेमा उनी विश्वस्त छिन् । आफ्नो अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ, ‘‘यसरी महिलाहरुले आफ्नै सीपबाट केही आयआर्जन गर्न सके घरपरिवार चलाउन सहज हुने र आत्मसम्मान हुने रहेछ् ।’’

 

अल्लोको रेशाबाट धागो बनाउने र सोबाट बनेको विभिन्न किसिमका कपडाको हाल निकै माग छ । पछिल्लो समय अल्लोको कपडा सूती जस्तै तथा प्राकृतिक रेशाबाट बन्ने भएकाले यस प्रति जनमानसको आकर्षण बनेको छ । अल्लो बाट बुनेका कपडाको स्थानीयको साथै वैदेशिक माग पनि उच्च रहेको देखेपछि तालिममा सहभागी प्रायः सबैले यसलाई व्यावसायिक रुपमा अगाडि बढाएका छन् । अल्लोको कपडा बुन्नको लागि कुनै विशेष प्रकारको प्रविधिको आवश्यकता नपर्ने साधारण हाते तानद्वारा चलाउन सकिन्छ ।

 

कार्यक्रम सञ्चालन भएका पालिकाहरुमा सामाजिक र आर्थिक रुपमा पछाडि पारिएका महिला र सिमान्तकृत वर्गलाई नवीकरणीय ऊर्जामा आधारित सानातिना व्यवसाय गरी आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले स्थानीय निकायहरुसँग समन्वय गरी डेरी, हर्बल साबुन, बेकरी, सोलार मर्मतसम्भारलगायत विभिन्न आयमूलक तालिम सञ्चालन गरिएको जनाइएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।