बिहानभर पाकेका मकै थन्क्याएपछि साँझसम्म नै खेतका गरामा व्यस्त हुने बेला हो यो । अति व्यस्तताका कारण ‘लासलाई छोपेर मेलामा जाने समय’ का रूपमा चिनिने यो महिना माना रोपेर मुरी उब्जाउने महिना पनि हो । असार महिनाको प्रमुख दिन हो असार १५ गते । यो दिनलाई धान दिवसको रुपमा समेत मनाउने गरिन्छ ।

पोखरा २५ हेम्जामा आयोजना हुने तेस्रो हेम्जा हिले महोत्सवको कारण यो वर्षको धान दिवस निकै विशेष हुने आँकलन गरिएको छ । हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा “कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान” भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिन लागेको हो । महोत्सवको तयारी पुरा भैसकेको समेत आयोजकले जनाएको छ ।

प्राय गरि महोत्सवहरु प्रदर्शनी केन्द्र, सहरको विच भागमा, खुला चौरमा हुने गर्दछ तर हेम्जा हिले महोत्सव यस्तो महोत्सव होईन । यो खेतको हिलोमा धान रोप्दै असारे गाउँदै हलगोरुलाई हिलोमा दौडाउदै आयोजना हुन लागेको महोत्सव हो । यसवर्षको हेम्जा हिले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ भने हेम्जा हिले महोत्सवको करिब १५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

आधुनिकिकरण र सहरीकरणका कारण वर्तमान समयमा मानिसहरुमा कृषिप्रतिको मोह हराउँदै गएको छ । सहरमा बस्ने नयाँ पुस्तालाई खेती प्रणालीका बारेमा जानकारी दिनपनि महोत्सव फलदाई हुने आयोजकको अनुमान रहेको छ ।

महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुले समेत प्रस्तुती दिनेछन् । यसका अलावा हिलोमा माछा समात्ने, रोपाई प्रतियोगीता भाले समाउने प्रतियोगीता समेत आयोजकले जनाएको छ ।

हेम्जालाई आलुको प्रमुख पकेट क्षेत्रको रुपमा लिईन्छ । प्राकृतिक सम्पदाले भरिपुर्ण हेम्जामा आलुबाहेक धान र अन्य कृषिजन्य उत्पादन पनि राम्रो रहेको र हेमजाको धार्मिक र सांस्कृतिक पक्षलाई दर्शाउनु पनि महोत्सवको मुख्य उद्धेश्य रहेको छ । देवीस्थान सेवा समाजले विगत केहि वर्षदेखि हेमजामा हिले महोत्सव गर्दै आईरहेको छ ।

हिले महोत्सव आयोजना गर्न जति उत्साहित हेमजाका कृषकहरु देखिएकाछन् । त्यति नै दुखको पाटो पनि रहेको छ । सरकारले मल अभाव हटाएको ठोकुवा गरिराख्दा हेमजाकै कतिपय कृषकहरुले धानका लागि चाहिने मल पाएका छैनन् । सिँचाईको सहज पहुँचबाट अझैपनि उनीहरु बञ्जित छन् । रोपाई गर्न आकाशे पानीको भर पर्नुपर्ने अझैपनि उनीहरुको बाध्यता रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।