नेपालमा रहेका डेरीहरुको छाता संस्था नेपाल डेरी एसोसिएसनले रजत जयन्ती मनाउने भएको छ । २५औं स्थापना दिवसको अवसरमा माघ ७ गते काठमाडौंमा विशेष कार्यक्रम गरी एसोसिएसनले रजत जयन्ती मनाउन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए । होटल मल्ल काठमाडौंमा कार्यक्रम हुनेछ । साधारणसभासमेत हुने उक्त कार्यक्रममा देशभरबाट डेरी व्यवसायीहरुको उपस्थिति रहने बताइएकोे छ ।

रजत जयन्तीको पूर्व सन्ध्यामा देशभर विविध कार्यक्रम हुने एसोसिएसनले जनाएको छ । प्रदेश तथा जिल्लास्तरीय कार्यक्रमहरु पनि हुने उनले बताए । कार्यक्रम सफल बनाउनका लागि तयारी तिब्र बनाइएको संस्थाका उपाध्यक्ष मनोजकुमार घिमिरेले जानकारी दिए ।

एसोसिएसनले बालआश्रम, ज्येष्ठ नागरिक आश्रम, विद्यालय, अस्पताल लगायतमा दूध तथा दुग्ध पदार्थ वितरण गर्ने जनाएको छ । व्यावसायिक हकहित तथा डेरीको विकासमा एसोसिएसनको योगदान महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष दाहालले एसोसिएसन स्थापनाको रजत जयन्तीसम्मको यात्रामा साथ दिने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै संस्थाका पूर्व अध्यक्ष सुमित केडियाले उद्योगहरुमा पाउडर दूध र बटर स्टक बढेको बताउँदै खपत बढाउनुपर्ने बताए । ५ अर्ब रुपैयाँ बराबरको पाउडर र बटर स्टक रहेको बताउँदै उनले ‘मिल्क होलिडे’ आउन नदिनका लागि राज्यले समेत सहयोग गर्नुपर्ने उनले बताए । ‘जुन बेला दूत उत्पादन बढी थियो त्यो बेला हामीले लियौं, अहिले स्टक बढी छ । बिक्री भएन भने उद्योग नै विस्तापित हुने अवस्था आउन सक्छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै एसोसिएसनका बागमती प्रदेश अध्यक्ष टीकाप्रसाद घिमिरेले एसोसिएसन स्थापनाको रजत जयन्ती सबैको सहभागिता र साथ सहयोगमा मनाउने तयारी भएको र प्रदेश एसोसिएसनको तर्फबाट पनि सक्दो साथ र सहयोग हुने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।