प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने वताउँदै दीर्घकालीन र तत्कालिन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्ने बताए ।  प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका सम्वन्धमा तत्कालिन र दीर्घकालीनढंगले आवश्यक गृहकार्य गर्न सरोकार मन्त्रालय र निकायलाई निर्देशनसमेत दिए ।

उनले सहकारीको अनुगमनका लागि प्रभावकारी नियामक निकाय बनाउनुपर्ने विषयमा आफ्नो ध्यान गएको भन्दै सहकारी सम्वन्धी हाल कार्यरत नियामक संस्थाहरुलाई राम्रा, संकटमा रहेका र डुवेका सहकारीहरुको वर्गीकरण गरी प्रतिवेदन पेश गर्न निर्देशन दिए । उनले सहकारीमा बचतकर्ताले राखेको रकमको सुरक्षामा ध्यान दिन आग्रह गर्दै यसमा तिन वटै तहका सरकारको समन्वयमा प्रभावकारी कदम चाल्नुपर्ने औल्याए ।

सहकारी सम्वन्धी छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालसहित सम्वन्धित मन्त्रालय, विभाग र निकायका अधिकारीहरू उपस्थिति थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।