पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बरभोटेनीस्थित चण्डी माध्यमिक विद्यालयले आफ्नो ६१ औं वार्षिकोत्सव एवम् ६२ औं अभिभावक दिवस सम्पन्न गरेको छ ।

कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ३३ वडा अध्यक्ष रामचन्द्र अधिकारीले आज आयोजित एक समारोहका बीच उद्घाटन गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष अधिकारीले शिक्षा क्षेत्रमा सरकारको राम्रै लगानी रहेको बताउँदै त्यसको प्रतिफल आउने गरी गुणस्तरीयतामा जोड दिनुपर्ने बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नं ३३ भित्र विभिन्न १४ वटा सामुदायिक विद्यालय रहेको बताउँदै उहाँले आवश्यकता अनुसार यिनीहरूलाई मर्ज गरेर गुणस्तरीयता अभिबृद्धि गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले गाउँहरूमा विकास बढ्दै गएपनि बस्तीहरू खाली हुँदै जानु चुनौतीपूर्ण भएको बताउँदै दीगो र सार्थक विकासमा आजको आवश्यकता भएको बताउनुभयो ।

विद्यार्थीहरूमा राष्ट्रप्रेमको भावना जगाउने किसिमले शिक्षण सिकाईमा जोड दिनुुपर्ने उहाँले बताउनुभयो । शिक्षासेवी एवम् वडा शिक्षा समितिका सदस्य रामचन्द्र पौडेलले विद्यालयमा शिक्षाको गुणस्तरीयता अभिबृद्धि गराउनका लागि अभिभावकको जागरुकता आवश्यक हुुने बताउनुभयो । अभिभावकले विद्यालय तथा शिक्षकलाई समय समयमा घचघच्याउन सकेमा त्यसले शैक्षिक संस्था राम्रो बन्न सघाउने उहाँले बताउनुभयो । उक्त अवसरमा उहाँले धर्मपत्नी स्व.मधु पौडेलको स्मृतिमा परिवारकातर्फबाट ‘मधु पौडेल स्मृति छात्रबृत्ति पुुरस्कार’ का लागि २० हजार १११ रुपैयाँ अक्षय कोषको घोषणा गर्दै उक्त रकमको चेक विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गर्नुभयो । एकल बाबु वा एकल आमाका गरिब तथा जेहेन्दार छात्रछात्रालाई उक्त छात्रबृत्ति प्रदान गरिने उक्त अवसरमा जानकारी गराइयो ।

शिक्षासेवी पिताम्बर पौडेलले विद्यालय स्थापनादेखि हालसम्म आउँदाका भोगाई तथा अनुुभवको स्मरण गर्दै समयसापेक्ष शिक्षाको गुणस्तरीयता अभिबृद्धिमा जोड दिनुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुमबहादुर क्षेत्रीको अध्यक्षता एवम् सूचना अधिकारी कमलप्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रधानाध्यापक खिमबहादुर महतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने स्वागत शिक्षिका सुनिता महतले गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी एवम् राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चेतबहादुर महत, राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष दीनेश आचार्य, सिलिङ्गे महिला चेतना समुहका अध्यक्ष कर्णकुमारी महत, कालिका मा.वि. व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर पुन, शान्ति उदय मा.वि.का सहायक प्रधानाध्यापक राजेन्द्र बस्ताकोटी लगायतले बोल्नुभएको थियो ।

उक्त अवसरमा स्व.हेमप्रसाद लामिछानेको स्मृत्तिमा धर्मपत्नी कमला लामिछानेले १० हजार पाँच रुपैयाँको अक्षय कोष रकम हस्तान्तरण गर्नुभएको थियो भने स्व.कर्णकुमारी लामिछानेको स्मृतिमा बुहारी सन्तुमाया र छोरा लोकबहादुर लामिछानेले १५ हजार ५०० रुपैयाँको अक्षयकोष रकम हस्तान्तरण गर्नुभयो । त्यस्तै स्व.रामबहादुर कार्कीको स्मृतिमा उहाँका धर्मपत्नी मञ्जु कार्कीले २५ हजार २५ रुपैयाँको अक्षयकोष रकम विद्यालयलाई हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा स्काउट मार्चपास लगायत विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।