पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा स्वर्णिम कर्मचारी अवकास योजनालाई साढे १० करोड बजेट विनियोजन गरेको छ । कर्मचारी संख्या कटौती गर्न उनीहरुलाई स्वेच्छिक रुपमा अवकास लिन प्रेरित गर्ने गरी महानगरले यो योजना ल्याएको हो ।

योजना अनुसार पुराना करार कर्मचारीले स्वेच्छिक अवकास लिन चाहे महानगरबाट निश्चित रकम पाउने छन् । यो आर्थिक वर्षको बजेटको वार्षिक कार्यक्रम पुस्तिका (रातो किताब) भर्खरमात्रै सार्वजनिक भएको हो । उक्त किताबमा त्यस प्रयोजनाका लागि १० करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

१ वर्ष अवधि पुगेकालाई १ महिनाको सेवा सुविधा, १५ वर्ष पुगेकालाई १५ महिनाको सेवा सुविधा

महानगरका प्रवक्तासमेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले यो योजनामार्फत महानगरमा काम गरेको अवधिको आधारमा निश्चित रकम प्रदान गरिने जानकारी दिए । ‘१ वर्ष अवधि पुगेकालाई १ महिनाको सेवा सुविधा, १५ वर्ष पुगेकालाई १५ महिनाको सेवा सुविधा प्रदान गरिनेछ,’ प्रवक्ता तिमिल्सिनाले भने ।

महानगरमा ३५९ जना कर्मचारी करारमा कार्यरत छन् । करारमा कार्यरत कर्मचारीको म्याद हरेक वर्ष आर्थिक वर्षको मसान्तमा नवीकरण हुँदै आएको छ । यसपालि ६ महिना थप्ने निर्णय महानगरले गरिसकेको छ । २४ असारमा बसेको कार्यपालिका बैठकले ६ महिना थप म्याद थप गर्ने निर्णय गरेको थियो । महानगरले करारका कर्मचारीको पारिश्रमिकका लागि ९ करोड र नगर प्रहरीको पारिश्रमिकका लागि १ करोड ८० लाख बजेट विनियोजन गरेको छ ।

नगर प्रहरी र आकस्मिक सेवाका लािग ४ पांग्रे सवारी साधन शीर्षकमा महानगरपालिकाले १ करोड रुपैयाँ रकम बजेट विनियोजन गरेको छ । सोही आवको सुरुआतमा महानगरपालिकामा नगर प्रहरीको संख्या वृद्धि गरेको थियो । महानगरमा नगर प्रहरीको संख्या बढाएर ५० पुर्‍याउने निर्णय भएको छ ।

महानगरले आव ०७९/८० का लागि स्थायी कर्मचारीको तलबका लागि २६ करोड ५२ लाख बजेट विनियोजन गरेको छ । महानगरले स्थायी कर्मचारीको तलव पहिलो त्रैमासिकमा ८ करोड १६ लाख र दोस्रो, तेस्रो र चौथो त्रैमासिकमा समान ६ करोड १२ लाख विनियोजन गरेको छ । कर्मचारी पोसाक भत्ताका लागि महानगरले ८२ लाख ५० हजार बजेट विनियोजन गरेको छ । महानगरले पोखरा प्रवेशद्वार ब्युटिफिकेसन र पोखरा स्मारकको अध्ययत ब्रान्डिङ निर्माणका लागि समान १/१ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।