राष्ट्रियसभा सदस्य बामदेव गौतमले नागरिकता विधेयकमा राष्ट्रपतिले पठाएको सन्देश सान्दर्भिक रहेको बताएका छन्।

नागरिकता विधेयकबारे राष्ट्रियसभा बैठकमा जारी छलफलमा बोल्दै उनले राष्ट्रपतिको सन्देश पुनर्विचार गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै आपत्ति जनाए।

‘राष्ट्रपतिले पठाएका हरेक सन्देश बेठिक छैनन्, तर प्रतिनिधिसभाले त्यसलाई बेवास्ता गरेर हुबहु पारित गरेको छ’, गौतमले भने, ‘अहिलेकै व्यवस्था राख्ने हो भने पनि राष्ट्रपतिका हरेक सन्देशको स्पष्ट जवाफ दिनुपर्दैन?’

उनले प्रतिनिधिसभामा राष्ट्रपतिमाथि भएका टीकाटिप्पणीप्रति पनि आपत्ति जनाए। ‘त्यत्रो समय लगाएर उहाँले सन्देशसहित विधेयक फिर्ता गर्नुभयो तर त्यसलाई कलेजको विद्यार्थीले लेख्ने निबन्धजस्तो भनेर टिप्पणी गरियो, गौतमले भने, ‘राष्ट्रपतिप्रति गरिएको व्यवहार बदलाको भावनाले प्रेरित छ।’

उनले पुनर्विचारका लागि फिर्ता आएको विधेयकमा परिवर्तन नगरी हुबहु पास गर्नु राष्ट्रपतिप्रतिको अपमान हुने उनको भनाइ छ।

‘राष्ट्रपतिको सम्मान गर्न नजान्ने हो भने राष्ट्रपति प्रणाली हटाउनुपर्छ’, गौतमले थपे।

राष्ट्रियसभाले विधायन समितिमा थप छलफलका लागि पठाउँदा आफू खुसी भए पनि हुबहु पारित गरिनु दुःखद भएको बताए। उनले राष्ट्रपतिका सन्देशलाई राष्ट्रियसभाले गम्भीरतापूर्वक लिएर अघि बढ्नुपर्नेमा जोड दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।