प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन टुटाउन खोज्नेलाई षड्यन्त्रकारीको संज्ञा दिएका छन्। शुक्रबार चितवनमा आयोजित एक कार्यक्रममा देउवाले सत्ता गठबन्धन फुटाउन खोज्नेहरु षड्यन्त्रकारी भएकाले जोगिन गठबन्धनका दललाई आग्रह गरेका छन्।

सत्ता गठबन्धनसहित चुनावमा जाँदा सबै दलहरुलाई फाइदा हुने भन्दै गठबन्धनविरोधी गतिविधिमा नलाग्न आग्रह गरेका छन्। उपयुक्त र न्यायोचित तवरले सिट बाँडफाँट गर्ने देउवाले प्रतिवद्धता व्यक्त गरेका छन्।

सिट बाँडफाँट निकै असहज वनिरहेको बेला देउवाले यस्तो अभिव्यक्ति दिएका हुन्। सिट बाँडफाँट गर्न गठित सत्ता गठबन्धनको कार्यदलले टुंग्याउन नसकेपछि शीर्ष नेतालाई जिम्मा दिएको छ।

सत्ता गठबन्धनमा आवद्ध पाँचै दलले हैसियत भन्दा धेरै सिट दाबी गर्दा पेचिलो बनेको हो। एक महिनादेखि गृहकार्य गरेको कार्यदलले हिजो बिहीबार शीर्ष नेतालाई अपूरो प्रतिवेदन बुझाएपछि गठबन्धनभित्रको सकस झन् बढ्ने देखिएको छ।

एउटै क्षेत्रमा गठबन्धनमा आवद्ध दलका धेरै नेताको दाबी परेको छ। गठबन्धनमा शीर्ष नेता व्यवस्थापन निकै पेचिलो बनेको छ। नेपाली कांग्रेसले आफू अनुकूल सिटबाँट गर्न लागेको अन्य दलले आरोप लगाएका छन् भने कांग्रेसभित्र कै नेता शेखर कोइराला समूह एक सय सिट भन्दा तल घट्न नहुने ‘रटान’ लगाइरहेको छ ।

कांग्रेसलाई प्राप्त सिटमध्ये ४० प्रतिशतमा शेखर समूहले दाबी गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।