नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले प्रतियोगिता भव्य बनाउन आफ्नो तयारी सुरु गरेको छ ।

महानगरले प्रचार प्रसारका माध्यमबाट पोखरालाई खेलकुदमय बनाउन सहरका मुख्यस्थल र महानगरका प्रवेशनाकाहरुमा स्वागतद्धार र प्रचार सामग्री राख्ने भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन महानगरले आफ्नो तर्फबाट काम अघि बढाएको हो ।

महानगर प्रमुख धनराज आचार्यले पोखरा खेलकुदमय भएको छ भन्ने हिसावले प्रतियोगिताको प्रचार प्रसारका विषयमा सरोकारवाला निकायसँग बसेर दसैँ लगत्तै यसलाई सुरु गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो,“पोखरा खेलकुदमय छ भन्ने महशुस गराउन हामीले विज्ञापनका लागि विद्युतिय डिस्प्ले बोर्ड, रोड व्यानर, स्वागत गेट लगायतबाट प्रचार प्रसार गर्नेछाँै ।”

महानगरपालिकाले खेलका लागि पोखरा आउने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई यातायात, होटल, सपिङ मल लगायतमा छुट तथा सहुलियतका लागि समेत सम्बन्धित पक्षसँग आह्वान गरिने जनाएको छ ।

“राष्ट्रिय खेलकुद देशकै गौरव हो यसलाई सफल बनाउन सबैले आआफ्नो ठाउँबाट सानो भएपनि योगदान गर्नुहोस् भनेर होटल व्यवसायी, यातायात व्यवसायी तथा नीजि क्षेत्रसँग आह्वान गर्नेछौँ ।” आचार्यले भन्नुभयो ।

महानगरले खेलस्थलहरुसम्म जाने सडक, खेलस्थलहरुको सरसफाई, विद्युत, खानेपानी, शौचालयको उचित प्रवन्ध तथा खेलस्थलको सजावटमा पनि सहयोग गर्ने जनाएको छ ।

गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगिताका भव्य बनाउनुपर्ने सबैको दायित्व रहेको बताउनुभयो । सरकारी तथा नीजि क्षेत्र सबै मिलेर मात्र राष्ट्रको गौरवसँग जोडिएको खेल प्रतियोगिता सफल हुने उल्लेख गर्नुभयो ।

प्रतियोगितालाई मध्यनजर गरी खेलस्थलहरुसम्म पहुँचका लागि सडक मर्मत तथा स्तरोन्नति महानगरपालिकाका विभिन्न नाकाहरुमा स्वागत तथा सहरका विभिन्न यात्रु प्रतिक्षालय लगायत अन्य स्थानहरुमा खेलकुदसँग सम्बन्धित सामाग्रीहरु डिस्प्ले बोर्ड राख्ने व्यवस्था महानगरले गर्ने प्रतिवद्धता जनाएको गुरुङले जानकारी निदुभयो ।

प्रतियोगिता स्थलहरुमा डस्टविनहरुको व्यवस्था गरी दैनिक रुपमा सरसफाई, मिडिया सेन्टरमा विद्युत तथा गुणस्तरीय इन्टरनेटको व्यवस्था गर्ने लगायतका विषयमा सहजीकरण गरिदिन उहाँले महानगरसँग आग्रह गर्नुभयो ।

गण्डकी प्रदेश र मुख्य गरी प्रतियोगिता आयोजनास्थल पोखरामा हुन लागेको प्रतियोगिता कास्की सहित स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको छ ।

राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोःखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएका छन् ।

त्यस्तै हयाण्डबल, जुडो, कुस्ती, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका खेल हुन् । प्रतियोगिता यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुँदैछ । प्रतियोगिताका लागि अब दुई साताको समय बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि nepaleditor.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।